बास खोज्दै प्रधानमन्त्री झोर महाङ्कालमा !

अषाढ १ -
गाउँको केन्द्रमा एक हूल मान्छेका आँखा दक्षिण टोखा सडकतिर एकोहोरिएका थिए । चहलपहल पहिलेभन्दा थोेरै बढेको थियो । बूढाबूढीहरू पनि घरको पिँढी छाडेर सडकको किनारामा झरेका थिए । केटाकेटी बुरुकबुरुक गर्दै यताउता दौडेका देखिन्थे । सूर्य पश्चिम नागार्जुनको डाँडातिर ढल्किसकेको थियो । राजधानीमा बढेको गर्मी सूर्य अस्तसँग ओरालो झरेको महसुस हुँदै थियो । त्यही बेला साइरन बजाइउँदै र बत्ती बाल्दै करिब आधा दर्जन गाडी गाउँ पसे । गाडीको आवाजले गाउँको शान्ति भंग गर्‍यो । त्यसपछि यो गाउँ उस्तै रहेन ।

मान्छेको भीड बाक्लियो, सुरक्षाकर्मीको गस्ती सुरु भयो । एक खालको आदेश सुरु भयो । गाउँमा एक रातको लागि बास खोज्दै आएका थिए, देशका प्रधानमन्त्री डा. बाबुराम भट्टराई । राजधानीको उत्तरमा पर्ने झोर महाङ्काल गाविसको यो गाउँमा मुलुकका प्रधानमन्त्रीका लागि स्वागत् द्वार थिएनन् । उनी कुनै उद्घाटनका लागि गएका पनि थिएनन् । हरेक महिना दुर्गम क्षेत्रमा गई अन्तरक्रिर्या गर्ने पछिल्लोपटकको प्रचारमूलक कार्यक्रमअनुसार उनी त्यहाँ पुगेका थिए ।

हप्ते बिदाको दिन डेरामै बसिरहेका बेला बालुवाटारबाट आएको एउटा फोनको निम्तोमा उल्लिखित दृश्य देख्ने अवसर मिल्यो । चक्रपथबाट करिब दस किलोमिटर टाढा झोर गाउँमा आधा सहरिया र आधा गाउँले परिवेश छ । सबै कुरामा आधा गाउँ र आधा सहरको प्रभाव परेको रहेछ । प्रधानमन्त्री भट्टराई झोरमा झर्ने बेला साँझ पर्न थालिसकेको थियो । सभासद् हुँदाताका हरेक महिना आफ्नो निर्वाचन क्षेत्र गोरखा जाने गरेका भट्टराई संविधानसभा भंग भएपछि महिनाको एउटा गाउँ जाने मुडमा छन् । यो सुरुवातको गाउँ हो । निकै प्रशंसाबाट सुरु भएको भट्टराईको सत्ता यात्रा अहिले अति प्रचारको आरोपमा अलमलिन थालेको छ । यो कार्यक्रमलाई त्यसको नयाँ कडी मान्न सकिन्छ ।

भिरालो जमिनमा बनेको सानो एकतले घरको आँगन स्थानीयले खचाखच भरिएको थियो । कार्यक्रम औपचारिक थिएन । झिसमिसे साँझमा गुनासाका पोका फुकाउने काम उनीहरूले सुरु गरे, ती गुनासालाई पावरवाला चस्मा लगाएर भट्टराईले कापीमा टिपिरहे । बिजुली घरी आउने र जाने क्रम जारी थियो । बत्ती गएको बेला सुरक्षाकर्मीको टर्चलाइटले प्रधानमन्त्री र सँगै गएकी प्रधानमन्त्री पत्नी एवं नेतृ हिसिला यमीको अनुहार देखिन्थ्यो । पछाडितिर बसेका स्थानीयहरू अँध्यारोमा डुब्थे । त्यही क्रममा एकजनाले व्यंग्य गरे, 'प्रधानमन्त्रीलाई पनि नचिन्ने यो कस्तो बत्ती रैछ, हामीलाई नचिने पनि प्रधानमन्त्रीलाई त चिन्नुपर्छ नि !'

करिब साढे दुई घन्टा स्थानीयले भट्टराईलाई धेरै गुनासा गरे, केहीले सुझाव दिए । उनीहरूले संविधानसभाबाट संविधान बनाउन नसकेकोमा दुःख मान्दै नेताको क्षमतामा प्रश्न उठाए र मुलुकलाई सम्हाल्न आग्रह गरे । स्थानीय लक्ष्मण लामिछानेले संविधानसभा ब्युँताएर संविधान बनाउन सुभाव दिए । त्यसबाट मुलुकको ढुकुटी जोगिन्छ भन्ने उनलाई लाग्छ । केहीले बाटोघाटो, खानेपानी, सहकारीसम्बन्धी माग पनि गरे ।

अब बोल्ने पालो थियो, भट्टराईको । राजीनामा नदिएका तर राष्ट्रपतिबाट काम चलाउको चिठी पाएका भट्टराईले आफूले यो गाउँमा बास माग्नुको कारण बताउन थाले । 'मनका कुरा नलुकाई भन्नुभएकोमा खुसी लाग्यो । म यहाँ प्रशंसा सुन्न आएको होइन, आलोचना र सुझाव सुन्न आएको हुँ । बरु तपाईंहरूले मेरो आलोचना कम गर्नुभयो,' उनले मधुरो प्रकाशबीच भने । संविधानसभा विघटनबारे केेही समय व्याख्या गरे । आफूले निर्वाचन घोषणा गर्नु अपराध नभएको उल्लेख गर्दै आफ्नो बचाउ गर्ने प्रयास गरे । जब उनले जनताका खास जनचासोका विषयबारे कुरा कोट्याए, अनि मात्र स्थानीयको ध्यान केन्दि्रत भयो । उनले त्यस्तो कुनै खास आश्वासन दिन नआएको भन्दै गुनासा, सुझाव र आलोचना आफ्ना लागि मार्गनिर्देशन हुने बताइरहँदा रातिको नौ बजेको थियो ।
भट्टराई बास बस्न गएको त्यो क्षेत्रबाट संविधानसभा निर्वाचनमा माओवादी उपाध्यक्ष मोहन वैद्य समूहका पोलिटब्युरो सदस्य हितमान शाक्यले जितेका थिए । प्रधानमन्त्री आफ्नो निर्वाचन क्षेत्रमा पुगेको बेला शाक्य सायद वैद्य निवास गोंगबुमा पार्टी अन्तरसंघर्षबारे कुरा गरिरहेका थिए । कार्यक्रममा माओवादी कार्यकर्ताको भने कम उपस्थिति थियो । संयोग कस्तो भने, झोर महाङ्कालका केही बासिन्दा करिब डेढ सय वर्षपहिले गोरखाबाट आएको उनीहरूले सुनाए । गोरखाली प्रधानमन्त्री कतै त्यही कुरा थाहा पाएर गएका हुन् कि होइनन् भन्नेचाहिँ कसैले खुलाएनन् ।

आँगनमा प्रधानमन्त्रीले कुराकानी गरिरहेका बेला भित्र भान्साबाट प्रेसर कुकरको सिट्ठी बजिरहेको थियो, भाषणमा संगीत भरेजस्तो । आफ्नो घरमा प्रधानमन्त्री पाहुना आएकोमा लक्ष्मी लामिछाने निकै दंग थिइन् । 'बुधबार बिहान मात्रै आउने भन्ने थाहा पाइयो । एकदम रमाइलो लागेको छ । यसरी हाम्रो घरमा आउनुुहोला भन्ने सोचेकै थिएनौं,' उनले भनिन्, 'घरमा जे छ, हामी जस्तो खान्छौं । त्यही खुवाउँछौं ।'

बोल्ने कार्यक्रमपछि सशस्त्र द्वन्द्वको बेला सुरक्षाकर्मीले पक्राउ गरी बेपत्ता बनाएका ठाकुर लामिछानेको घरमा भट्टराई गए । दमको रोगले अक्सिजन लिइरहेका बेपत्ताका बुवाले सकिनसकी बेपत्ताको स्थितिबारे ध्यानाकर्षण गराए । 'मरेको भए मर्‍यो भन्नु, देखेको भए ज्युँदो छ भन्नु ? न मरेको हो, न देखेको हो, त्यसकारण बेपत्ताबारे केही गर्नुस्,' उनले भने । बाँसको मुढामा बसेका प्रधानमन्त्री भट्टराईले त्यसबारे कानुन बनाउन सुरु भएको बताए ।

रातको करिब दस बजेको थियो । घरको तल्लो तलामा परालको गुन्द्री बिछ्याइएको थियो । त्यही कुनामा भान्सा थियो । भट्टराई काठको लिस्नुबाट माथिल्लो तलामा उक्लिएका रहेछन् । हिसिला यमी भने खाना खान गुन्द्रीमा बसेकी थिइन् । एकछिनमा उनी पनि ओर्लिए । घरमा जे छ, त्यही खाना पकाउन आग्रह गरिएको रहेछ । आफ्नै खेतको धानको चामलको भात, बारीको आलु, कालो दाल र गोलभेंडाको अचार बनाइएको थियो । खान थालेपछि भट्टराई बोले, 'कस्तो स्वादिलो खाना । सहरतिरको खानामा त स्वादै हुन्न । यो त मीठो छ ।' यमीले पनि सही थपिन् ।

बाबुरामले गोलभेंडाको अचार नखाने बताएपछि हिसिलाले थालबाटै झिकेर आपmनो भागमा लगिन् ।

बालुवाटार निवास र यहाँको खानामा के फरक ? 'बालुवाटारको खाना रबरजस्तो लाग्छ, यहाँको स्वादिलो,' भट्टराईले भन्न नपाउँदै यमीले जवाफ दिइन् । केहीबेर खानाबारे कुरा चल्यो । भट्टराईले यमीलाई खाना पकाउन सिकाएका खुलासा पनि त्यही गरे । 'यिन -यमी) लाई मैले खाना पकाउन सिकाएको हुँ,' उनले मुखमा गाँस हाल्दै भने । बालुवाटार सरकारी निवासमा कहिल्यै खाना नथप्ने भट्टराईले भात थपे, 'हामी बालुवाटारमा कहिल्यै खाना थप्दैनौं, यहाँ त थप्यांै' यमीले यसो भन्दा भट्टराई मुस्कुराए । खाना खाइरहेको बेला भट्टराईले गोरखा खोप्लाङको घरको याद गरे । 'हाम्रो घर पनि यस्तै हो ।'

उनी बसेको घरको आँगनमा सुरक्षाकर्मीले पहरा दिन पाल टाँग्दै थिए । कोही मकैबारीमा उभिएका थिए भने कोही आँगनको डिलतिर । किनकि एक रात उनीहरूले त्यही काट्नु थियो, त्यहीँ प्रधानमन्त्रीको सुरक्षा गर्नु थियो । छाप्रोमै पुगे पनि, प्रधानमन्त्री बसेपछि त्यो घरलाई सुरक्षा दिनु त पर्‍यो । प्रधानमन्त्री जहाँ बस्यो, त्यही बालुवाटार ! भोलिदेखि यो गाउँ र घरमा कुनै फरक देखिएन भने पनि के फरक पर्छ र !

सरकार रहिरह्यो र भट्टराई यसरी बास खोज्दै हिँडे भने उनीहरूले यस्ता धेरै रात छाप्रोमा कटाउनुपर्नेछ ।

Source: Kantipur